सुदूरपश्चिम: नाकामा घर फर्किनेको भीड, कोरोना परीक्षण गर्न समस्या

सेयर गर्नुहोस्

25 चैत्र, काठमाडौँ । भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै रोजगारका लागि कमाउन गएकाहरू अहिले स्वदेश फर्किन थालेका छन्।

चैत ३ गतेदेखि त्रिनगर भन्सार नाकाबाट मात्रै ८ हजार बढी घर फर्किसकेका छन्।

तीमध्ये नाकामा ४ हजार बढीलाई कोरोना छ कि छैन भनेर एन्टिजेन परीक्षण गर्दा  १ सय ५० बढीलाई संक्रमण देखिएको छ।

त्रिनगर नाकामा हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदका अनुसार बुधबार बिहानमात्रै १ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

‘हामीले कतिपयको ग्रुपमा परीक्षण गर्ने गरेका छौं, चैत ३ गतेदेखि कोरोना जाँच गर्न थालेपछि ४ हजारको हाराहारीको परीक्षण गरिसकेका छौं। त्यसमा १ सय ५० बढीलाई कोरोना पुष्टि भएको छ’, साउदले भने।

उनले अहिले दोस्रो चरणको कोरोना संक्रमणपछि दैनिक १ हजारदेखि १५ सयको हाराहारीमा घर फर्किन थालेको जानकारी दिए।

दैनिक सीमा नाकामा घर फर्किनेहरूको भीड बढ्दै गए पनि सोही अनुसार उनीहरूको कोरोना परीक्षण गर्न समस्या भइरहेको हेल्थ डेस्कका कर्मचारी साउदको भनाइ छ।

‘जाँच गर्न किटको समस्या छ जनशक्तिले पनि भ्याउन सक्ने  अवस्था छैन। थप माग गरिरहेका छौं,’ उनले भने।

अहिले हेल्थ डेस्कमा कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट ४, धनगढी उपमहानगरपालिकाबाट १, सामाजिक विकास मन्त्रालयबाट १ र स्वास्थ्य कार्यालय कैलालीबाट ७ जना कर्मचारी काम गरिरहेका छन्।

यी कर्मचारी बढ्दै गएको भीडमा सबैको कोरोना परीक्षण गर्न अभाव भएको बताइएको छ।

पोजेटिभ देखिएकाहरूलाई स्थानीय तहले बनाएका आइसोलेसनमा राख्ने गरिएको छ।

स्वदेश फर्किनेहरूको संख्या बढेकाले सुदूरपश्चिममा कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको छ।

मंगलबार राति भारतबाटै फर्किएका कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ।

यस्तै, भारतबाटै फर्किएका तीन जनामा सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको थियो।

जोखिमलाई मध्यनजर गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्ने/गराउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्ने, मास्क लगाउने, भारतबाट फर्किनेलाई अनिवार्य रूपमा आइसोलेसन र क्वारेन्टिनमा व्यवस्थापन गर्ने  निर्णय गरेको जानकारी दिए।

बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोगमा कडाइ गर्ने बताउँदै जोशीले नियमको उल्लंघन गर्नेलाई कारबाही गरिने बताए।

त्रिनगर भन्सार नाका सँगसँगै गड्डाचौकी, दार्चुला र बैतडीका नाकाहरू पनि भारतका विभिन्न सहरहरूबाट स्वदेश फर्किनहरूको संख्या दैनिक बढ्दै गएको सम्बन्धित प्रशासन कार्यालयले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares