विराटनगरको सहिद रंगशालामा स्थायी फ्लडलाइट

सेयर गर्नुहोस्

२४ चैत्र, काठमाडौँ । विराटनगरस्थित सहिद रंगशालामा खेलकुदका रात्रिकालीन प्रतियोगिता आयोजना गर्न मिल्ने गरी स्थायी फ्लडलाइट (बत्ती) जडान सम्पन्न भएको छ। काठमाडौंपछि मोफसलमै पहिलो पटक प्रदेश १ को राजधानी विराटनगरमा जडान गरिएको फ्लडलाइटको मुख्यमन्त्री शेरधन राईले सोमबार साँझ औपचारिक उद्घाटन गरे।

उनले लाइटको स्वीच थिचि उद्घाटन गरेका हुन्। प्रदेश सरकारको लगानीमा लाइट निर्माण गरिएपछि दिउँसोको समयमा मात्रै खेलकुद प्रतियोगिता गराउनुपर्ने बाध्यताको अन्त्य भएको राईले बताए।

रात्रिकालीनका लागि प्रकाश (उज्यालो) अभाव हुँदा ठूला प्रतियोगिता जाडो तथा गर्मीका मौसममा दिउँसो गराउनु पर्ने बाध्यता थियो। अब लाइट जडान भएर रात्रिकालीन प्रतियोगिता गर्न सकिने भएपछि खेलाडी र खेलप्रेमीलाई राहत पुगेको उनको भनाइ छ। गर्मीका समयमा दिउँसो प्रतियोगिता आयोजना असम्भव भइरहेका बेला लाइट जडानले ठूलो राहत मिल्ने मुख्यमन्त्री राईको अपेक्षा छ।

‘प्रदेश राजधानीमा फ्लड लाइट जडान गर्ने घोषणा यसअघि प्रदेश सरकारले गरेको थियो’, उनले भने, ‘त्यही घोषणा र प्रतिवद्धता आज पूरा भएको छ।’ राईले खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी पनि दिए।

मुख्यमन्त्री राईले सरकारको आलोचना गर्नेहरुलाई काम भइरहेको छ कि छैन भन्ने जानकारी लिन सहिद रंगशालामा आएर हेर्न पनि आग्रह गरे। उनले प्रत्येक जिल्लामा जतिसक्दो चाँडो रंगशाला निर्माण गरिसक्ने अभियानमा प्रदेश सरकार जुटेको पनि बताए। प्रदेश १ मा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु गरेर १४ वटा जिल्ला छन्।

मुख्यमन्त्री राईले फ्लड लाइटका कारण अब खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि आयोजना गर्न सहज भएको बताए। ‘विराटनगरको सहिद रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका प्रतियोगिता सञ्चालनमा सहजता भएर यस क्षेत्रको उद्योग, व्यापार र आर्थिक समृद्धिमा टेवा पुग्ने छ,’ उनले भने।

प्रदेशकी सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशमा खेलकुद गतिविधी बढाउने सरकारको योजना रहेको जानकारी दिइन्। लाइट सञ्चालनले खेलकुदको विकासमा ठूलो मद्धत गर्ने र विभिन्न प्रतियोगिताहरु आयोजना हुँदा खेलाडीको क्षमता वृद्धि तथा खेलाडी उत्पादनमा सहज हुने उनको भनाइ छ। मन्त्री राईले अब राति झलमल्ल उज्यालो हुने भएकाले मैदानमा खेल आयोजना गर्न समस्या नरहेको बताइन्।

विराटनगरको सहिद रंगशालामा निर्माण गरिएको फ्लडलाइटको स्वीच थिचेर उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई।

प्रदेश १ सरकारको पाँच करोड ४२ लाख रुपैयाँको लगानीमा लाइट जडान गरिएको हो। जसका लाडि २०७६ साल असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच सम्झौता भएको थियो। ३२ देखि ३५ मिटरसम्मको उचाइमा रहने र चारवटा पोल खडा गरी प्रत्येक फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गरिने सम्झौतामा थियो।

चार करोड २९ लाखमा २०७७ वैशाख २५ गतेभित्र निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि समयमा भने काम सकिएन। लागत पनि बढ्यो। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनलगायत अन्य प्राविधिक समस्याले गर्दा निर्माण कार्य ढिलाइ भएको बताइएको छ।

यसअघि २०७४ सालमा अस्थायी फ्लडलाइट जडान गरेर रातको समयमा विराट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो। राति प्रतियोगिता प्रभावकारी बनेपछि प्रदेश सरकारले स्थायी लाइट जडानको अवधारणा ल्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares