अन्तरजातीय विवाह-जनार्दन कट्टेल

सेयर गर्नुहोस्

कार्यालयको कामको सिलसिलामा हाम्रो टीम विर्तामोडमा फिल्ड मुकाम बनाई बसेको थियो । होटल विनायकमा ।

“म्याडमलाई अस्पताल लिएर जगन्नाथ सर आउनु भएको छ अरे । म्याडमको अवस्था गम्भीर छ रे ।” सरोजले कोठा भित्र छिर्दा छिर्दै भन्यो ।

मैले आनी छोइङ डोल्माको ‘फूलको आँखामा’बाट आफ्नो आँखा हटाएर जिज्ञासु बन्दै सरोज र पुष्करलाई पालैपालो हेरें ।

“म पनि सुन्दैछु । एकचोटी अस्पताल पुगेर आउनु पर्छ कि, जनार्दनजी ? ” पुष्करले ल्यापटप बन्द गर्दै भन्यो ।

“ठिक छ, जाउँ न त ।” पुस्तकलाई टेबलको एक कुनामा राखेर म टिसर्ट लागाउन थालें ।

यस पछि हामी होटलको कोठाबाट बाहिरियौ ।

लामो समयसम्म सरकारी नोकरीबाट भरखरै अवकाश पाएका जगन्नाथ सर र म्याडमको घरमा कहिलेकाहीं ठास्स ठुस्सको खबर अफिससम्म पनि आइपुग्थ्यो । सामान्य अवस्थामा दुई जनाको जोडी नारीचालित देखिन्थ्यो भने जगन्नाथ सरले लोकले नदेख्ने बेलामा अलिअलि लोकल देखेका बेलामा भने पुरुषचालित झैं लाग्थ्यो । त्यसै बेलामा अलि अलि परालको आगो बल्थ्यो । लोकले देख्दा लोकलको पावर घटिसकेको हुन्थ्यो र आगो पनि निभिहाल्थ्यो । कहिलेकाहीं ती ढुकुरका जोडी बजार बीचमा हात समाएर सएर गरेको पनि देखिन्थ्यो ।

पुष्कर र जगन्नाथ सर लामो समय एकै अड्डामा नोकरी गरेका थिए । सरोज भने जगन्नाथ सरको छिमेकी थियो । उनीहरू जगन्नाथ सरको बारेमा ओस्ताद थिए । जगन्नाथ सरको उमेरको कारणले अनिवार्य अवकाश भएपछि मात्र अन्यत्रैबाट सरुवा भई आएकोले मैले वहाँसँग एकै अड्डा वा एकै जिल्लामा बसेर काम गर्न पाइन । तथापि विद्यार्थी जीवनदेखि नै विभिन्न अड्डामा सेवा लिने क्रममा चिनेको थिएँ मैले जगन्नाथ सरलाई । व्यक्तिगत र पारिवारिक जीवनसँग अनभिज्ञ रहे पनि उनको मिजासिलो स्वभाव र सेवाप्रवाहमा सधैं तत्पर रहने तथा सहयोगी व्यवहारको कारणले म वहाँको व्यक्तित्वबाट प्रभावित थिएँ ।

बाटोमा जाँदा जाँदै सरोज सरले भन्यो –“बुढामान्छेलाई खै केको दशा लाग्यो, अस्ति मात्र आमालाई लिएर आए । अब आफूसँगै राख्ने भन्दै थिए । आजै म्याडमको नाजुक अवस्था छ, अस्पताल ल्याएको छ भनेर खबर आयो ।”

“पुर्ख्यौली घर चाँही कता रैछ बाबैको ?”

“धेरै अघिको त के जानौ र तर उनका बाआमा खोटाङबाट बसाई सरेर आएका भन्थे । अहिले मूल घर भने फत्तेपुरमा छ ।” पुष्करले मेरो जिज्ञासा मेटाउदै भन्यो ।

“चताराबाट पश्चिम होइन, फत्तेपुर ?”

“हो तर सप्तरीको कञ्चनपुरबाट उत्तरभन्दा चै सजिलो होला बुझ्न ।” पुष्करले फेरि भन्यो ।

बाटोभरी जगन्नाथ सरकै बारेमा गफ गर्दै गयौं । विर्ता सिटी हस्पिटलको गेट अघि पुग्दा कम्पाउण्डका बत्तीहरू झलमल्ल भए । रातले दिनलाई रमाना पत्र थमाउदै थियो । आफू बहाली हुन ।
हस्पिटलको नर्सिङ स्टेसन पुगेर सोधपुछ गर्ने क्रममा जगन्नाथ सर आफै टुप्लुक्क आइपुगे त्यहीं ।

-“लौ, सरहरू सबैलाई नमस्कार है । ” हामीले अभिवादन फर्कायौ ।

-“खै त कहाँ राखेको छ गुरुआमालाई ?” विद्यालयमा पढाउने भएकोले मोमिता म्याडमलाई सबैले गुरुआमा भन्ने गर्दथे । सबैभित्र म पनि परें । पहाडतिर शिक्षिकालाई मिस, म्याडम वा टिचर भन्ने चलन थिएन पहिला । अहिले समय फेरिइसक्यो ।

-“खै ! मृत्युको मुखमा राखेको छ भन्नु पर्ला । आइ. सि. यु.मा ।”, जगन्नाथ सरको अनुहारको कान्ति अघिनै कतै घुम्न निस्किसकेको थियो ।

-“हैट सर, कहाँ त्यस्तो निराश बन्नुभएको । बिस्तारै ठिक होला नि । अब हस्पिटल भर्ना त गरिसक्नुभयो । आइ. सि. युलाई मृत्युको मुखको सज्ञा दिन मिल्छ त ? झन राम्रो केएर गर्नको लागि बनाइएको विशेष कक्ष पो हो त । चौबिसै घण्टा निगरानी राखिन्छ त्यहाँ ।” पुष्करले जगन्नाथ सरलाई सम्झाउदै आइ सि यु को बारेमा ब्याख्या नै गरिदियो, मानौ आइ सि. यु. बारेमा जगन्नाथ सरलाई केही थाहा थिएन ।

आइ. सि. यु. को प्यासेन्टलाई भेट्ने कुरै भएन । हामी बाहिरै प्रतिक्षालयमा बस्यौं ।

“सर, खासमा म्याडमलाई के भएको हो ?”, सरोजले हामी सबैको जिज्ञासाको प्रतिनिधित्व गरिदियो ।

-“रोगमात्र भएको भए त, यही भएको हो भन्नु । स्वास्थ्य, शारीरिक, मानसिक सबैखाले समस्या छ । त्यही समस्या मलाई पनि शरीरहेको छ ।”

-“तपाईको घरको समस्या त हामी पनि अन्दाज गर्छौ, तर अस्पतालै भर्ना गर्ने गरी त केही भयो नै होला ?” यो पुष्करको अनुरोध थियो ।

जगन्नाथ सर केही बेर मौन बसे । हामी भने उनले केही भन्लान र सुनौंलाको भावमा प्रतिक्षालयमा प्रतिक्षारत भई एक अर्कालाई हेरिरह्यौ ।

–––

आम मानिसले सोचे जस्तो परालको आगो होइन भाइ हो, मेरो घरको झगडा – जो केहीबेर बलोस र शान्त होवोस । यो त भुसको आगो हो भुसको – जो निभ्नलाई भुस नै सकिनु पर्छ । सायद निभ्ला अब मोमितासँगै ।

हिजो निभ्ने बेलामा बत्ती ठुलो बले जस्तै भयो । सासू बुहारीको वाक युद्ध– महाभारत । अनि म बीचमा । मैले त आफैले एउटा अभेद्य चक्रब्युह रचना गरेको थिएँ । म अब यो चक्रब्युहबाट निस्कन सक्दिन भाइ हो । म फसिसकें – अभिमन्यु जस्तै ।

मेरो देउता ठुला । मेरो भान्सा छोइन्छ । म ठुलो जातकी । तँ सानो जातकी । तेरा छोराछारी सानो जातका । मेरी आमालाई यही अह म छ । आफू चुल्हामा बसेर काम गर्दै गर्दा, पूजा गर्दा मेरो छोराले समान छोइदियो । पुजाको सामग्री छोइदियो । खानाको भाँडो छोइदियो । यो तर्कसाथ आमाले वाकयुद्धको शंखघोष गर्नुभयो । त्यसपछि के चाहियो र ?

मोमिता पनि कम थिइन । आजकालको जमानामा जातभातको कुरा गरेर आफ्नै बुहारी अनि नाति नातिनीलाई हप्कि दप्की र छिः छिः र दुर- दूर गर्ने, त्यो पनि घर भित्रै । म पनि त्यो ठाउँमा थिएँ भने सहन सक्ने थिइन होला । मेरो प्रतिक्रिया त्यस्तै हुन्थ्यो होला – जस्तो मोमिताको थियो ।

म सबैभन्दा कमजोर थिएँ । न त मैले मेरी आमालाई जात भात छोइछिटो केही हुदैन, त्यो फगत सोच मात्र हो, यस्तो गलत सोच राखेर तपाईले आफ्नै बुहारी र नाति नातिनाहरुलाई हेला गर्नु हुदैन । अपमान गर्नु हुदैन, भनेर सम्झाउन नै सकें न त मोमिताकै कुरालाई होमा हो मिलाएर आमाको चित्त दुखाउन नै सकें । एकातिर मेरो परिवार छ, स्वास्नी, हुर्किन लागेका, हुर्किसकेका छोराछोरी छन्, उनीहरू शिक्षित बन्ने क्रममा छन् । अर्को तर्फ मलाई जन्म दिने आमा ।

मलाई थाहा छ, आजको जमाना आमाको जमाना होइन । जहाँ मानिसहरुले, यजमानहरुले पण्डितनी बज्यै भनेर वहाँको खुट्टा ढोगुन्, दलितहरुले बाटोको तल्लोपट्टि तर्किएर्र जदौ बज्यै भन्दै शिर निहुराउन् । पानी नचल्ने तर भात खाजा चल्ने जातका मानिसहरुले (मोमिता पनि त्यस्तै जातकी मानिन्छिन्) आमालाई उच्च जात र उच्च कूलकी भनेर सम्मान गरुन् । यो त्यो जमाना होइन । समय गतिशील छ । तर खै त मैले मेरी आमालाई गतिशील बनाउन सकेको ? मेरी स्वास्नी तिम्री बुहारी पनि हो, उसको जात तल्लो होइन । हामी समान हौ । मान्छे नै हौ भन्न सकेको खै त ?

मोमिता नेवारकी छोरी । उसले उती बेलै भनेकी थिई – के तिमीले मलाई तिम्रो परिवारमा बुहारीको उचित स्थान दिन सक्छौ ? र भनेकी थिई– तिम्रा बा आमाले मलाई तल्लो जातकी भनेर हेप्ने, होच्याउने वा हेय राख्नुहुन्न ? मैल निर्वाध र शिर ठाडो गरेर तिम्रो घरको बुहारीको भूमिका पाउन सक्छु ?

त्यति बेला मैले प्रेमान्ध भएर भनेको थिएँ – संसारमा जात भनेको महिला र पुरुष मात्र छ । किन तिमी जातको कुरा गर्छौ ? मेरा बा आमालाई सम्झाउने जिम्मा मेरो भयो । सकेसम्म सम्झाउछु, मेरो विचारसँग एकाकार गराउने छु । तै सकिएन भने पनि कम्तीमा मेरा लागि त तिमी कुनै उच्च ब्राह्मण परिवारकी कन्याभन्दा पवित्र छौ । हामी एक आपसमा प्रेम गर्छौ भने कसैले हाम्रो प्रेमलाई स्वीकारोस वा नकारोस – त्या गौण हो । सबैभन्दा ठुलो कुरा हाम्रो आत्मविश्वास हो ।

मेरो आत्मविश्वासलाई देखेर उसले पनि विश्वास लिएकी थिई । मोमिता महर्जनबाट मोमिता घिमिरे भएर पतिको घर सजाउने सुन्दर सपना देखेकी थिई । अन्तरजातीय विवाहको नमूना बन्नेछ आफ्नो जोडी भनेर पुलकित भएकी थिई ऊ । उसले कल्पनामै सजाएको कति सुन्दर बगैंचामा साँच्चै सुन्दर पुष्पहरू फक्रिएका थिए त्यतिबेला ।

मेरो आत्मविश्वास, उसको विश्वास, उसको सपना त्यतिखेरै तुसारापात भयो जतिबेला हामी बेहुला बेहुली हुन तयार भई सक्दा पनि मेरा बा आमाले उसलाई स्वीकार्न सकेनन् । मैले आत्मविश्वासका साथ दिएको बचनको फूलले काँडाको रुप लियो र चिमट्यो हामी दुवैलाई ।

मेरा बा पण्डित, आमा पण्डितनी । सारा संसार, यजमानको अघि आफ्नै नाक काटेर तिमीहरुको बिहे गर्न सक्दैनौ भनेर बा आमाको आधिकारिक भनाइ आए पछि हामीले मन्दिरमा विवाह गर्यौ । साधारण हिसाबले मैले उसको सिंउदो भरिदिएँ । प्रेमाभावले मोमिता मेरो छातीमा टासिंई । मैले उसको निधार चुमें । जसरी भए पनि हाम्रो घर बस्यो । एउटा सुन्दर जोडीको सुन्दर घर । बा आमाले अस्वीकार गरेपछि घर जाने कुरै भएन ।

त्यसपछि कैहिलेकाहीँ मलाई आफ्नै प्रेमप्रति शंका भएको बेला वापश्चाताप भएका बेला, परिवारबाट एक्लै हुनु परेको पीडाले पोलेको बेला र आमाबाबु प्रति मैले कर्तव्य बोध गरेको बेला मोमितालाई अपमान बोधले छोप्थ्यो र मानिसहरुले भने जस्तो परालको आगो लाग्थ्यो ।

बा बितेको एक वर्ष पछि मलाई लाग्यो – समय फेरियो । आमा पनि एक्लै हुनु भएकोले लिएर आउनु पर्यो, आफूसँगै राख्नु पर्यो, बरु केही कुरा आफै शहीदिनु पर्यो भनेर कति बिन्ती गरेर लिएर आएँ । आएकै भोलि पल्ट यस्तो भयो ।

मैले गरेको प्रतिज्ञालाई पूरा गर्न नसके पनि, बा आमालाई सम्झाएर मोमितालाई सम्मानजकरुपमा संयुक्त परिवार स्थापित गर्न नसके पनि, एकल नै सही एउटा सुन्दर परिवार छ हाम्रो । फूल जस्ता छोरा छोरीहरू छन् । हामी दुवैको जागिर थियो । राम्रो आयस्रोत थियो । अहिले पनि पेन्सन आँउछ । छोरीहरू उच्च अध्ययनको अन्त्यतिर छन् । छोरा विद्यालय शिक्षा पार गर्ने क्रममा छ । सब ठिक ठाक छ । तर आमाको राहतको लागि मैले वहाँलाई घर ल्याउदै गर्दा जुन पारिवारिक द्वन्द्व सिर्जना भयो यसको भागिदारी मैले लिनै पर्छ । त्यसैले म आफै पनि तनाबमा छु । बिचरा मोमिताको त जनम भरिको पीडा विष्फोट मात्र भएको हो ।

सरहरुलाई मैले आफ्नो कथा पहिला सुनाएँछु । मोमिताको बेथा चाहिं हाई प्रेसर र फोक्सोमा समेत इम्फेक्सन देखियो । बिहान घरमै चक्कर लागेर लडेकी अहिलेसम्म होस आएको छैन । सायद आई. सी. यु.मा मृत्यूसँग लड्दैछ । ऊ मेरो आधा शरीर हो उसँग मैले एउटा युग बाँचे । उसको प्रेम कति पवित्र थियो । कति निश्चल थियो । एउटा पुरुषका लागि चाहिने जति स्त्रीसुख मैले जीवनभर उसैबाट प्राप्त गरें । मेरा फूलजस्ता नानीहरुको माली हो ऊ । धरती हो ऊ – जीवनभर मेरा बा आमाबाट उत्पतिको आधारमा अपमानित भएर पनि मलाई भने सधैं सुखी र खुसी भएको हेर्न चाहिं । जननी हो मेरा सन्तानहरुको । भोक, थकान, रोगले मलाई गाँजेको बेलामा आमातुल्य माया गर्दथी । रुप, यौवन र रति क्रियामा स्वर्गकी अप्सराभन्दा बढी थिई । त्यसैले मोमिता मेरी सर्वस्व हो र हुनेछ ।

तर म अब आफ्नी आमाको व्यवस्थापन कसरी गरौ ?

oooo

जगन्नाथ सरले मोमिता गुरूआमालाई सम्झेर तुरुक्क आँशु झारे । हामीले गुरुआमाको शिघ्र स्वास्थ्य लाभको कामना गर्यौ । भोलि के कसो हुन्छ भेट्न आउदै गर्ने गरी हामी छुट्यौ ।

छुट्टिदै गर्दा जगन्नथ सरले मोमिताको एउटा डायरी मेरो हातमा थमाए । केही आफन्तको फोन नं. लेखिएको रहेछ । सम्पर्क गरिदिनु भने ।

होटलमा खाना खाइसकेपछि डायरीमा भएका करिब दश पन्ध्रवटा सम्पर्क नं. हरुमा फोन गरेर म्याडमलाई हस्पिटलमा राखेको जानकारी दिएँ । सम्पर्क नं. लेखिएको पानाभन्दा पछाडि थप केही लेखिएको भेटियो । एक पेज नीलो मसीले मोमिता म्याडमले र अर्को कालो मसीले जगन्नाथ सरले लेखेको रहेछ ।

करीब बाइस वर्ष अघि जेठी छोरी जन्मिएका बेला सुत्केरी अवस्थामा लेखिएको टिपोट रहेछ मोमिता म्याडमको –

“मिति २०४९/५/२२
मेरो अभागी कर्म । मेरो एक मात्र नातेदार छन् यो धरतीमा । कस्तो प्रेम गरिएछ । माइतीहरू जात नमिल्नेसँग गई भन्छन् । संस्कार मिल्दैन भन्छन् । पहाडका असभ्यहरुसँग गई भन्छन् । आफ्नो नाक काटेर । उफ ! मेरा माइतीहरुको इज्जत, उनीहरुको नाक ! कति बिध्न हेलाकी पात्र भएँ म– मेरै बाबु आमाबाट पनि । मेरै दाजु भाइबाट पनि । एउटा नश्लले अर्को नश्ललाई सानो जात देख्ने यो हाम्रो कस्तो समाज हो । मेरा सासू ससुराहरुको त झन हिसाब किताब नै छैन । मानौं घिमिरे परिवार जति ठुलो जात संसारमा सृष्टि भएकै छैन । त्यति अपमान त संसारमा कसैले कसैलाई पनि नगरोस् ।

सबै महिलाहरू सुत्केरी हुँदा सासूले बच्चालाई स्याहार गरेको देख्छु । सासू नहुँदा माइतीतिरबाट कोही न कोही आउछन् । मेरो मात्र सबै भएर पनि कोही छैनन् । नर्कको जुनी । न आफू सक्छु । काटेको शरीर छ । अलि बल गर्यो भने चुडिएला भन्ने डर । मेरा एक मात्र आफन्त पनि अफिसको काम भन्दै काठमाण्डौ हिडेको आज पाँच दिन भई सक्यो, कहिले आउने टुङ्गो छैन ।

मैले ठूलै आँट (गल्ती?) गरेछु सायद । आफ्नै जातमा बिहे गरेको भए कमसेकम सासू ससुराको माया पाइन्थ्यो । घर परिवार हुन्थ्यो । माइतीले सम्बन्ध तोड्दैनथे । अरुबेला नभए पनि यस्तो बेला त सहयोग चाहिने नै रहेछ । के गर्नु एक्लो बृहस्पतिको पूजा गरियो । आखिर आफै पनि एक्लै परियो। खै, नानी पो कसरी हुर्काउन सक्छु अब ।
जे भए पनि अर्को जातमा विवाह गर्नु चै फलामको च्युरा झै रहेछ ।

मेरा पति प्रति मेरो कुनै गनासो छैन । उनको क्रान्तिकारी सोच । प्रेम । अनि त घुलें म, चन्दन झै पानीमा । छाएकी छु जुन झै जुनेलीमा । म त पग्लेकै हुँ मैन झैं उनको मायाको रापले । हे ईश्वर, मेरा पतिलाई चाडो घर पठाइदेऊ ।”

त्यसपछि अर्को पेजमा कालो मसीले जगन्नाथ सरले लेखेका थिए –

“मिति २०७२/२/२८ ।
मेरा सुन्दर बगैचाका फूलहरु, तिमीहरुलाई लाख लाख शुभकामना छ । हाम्रो समाजमा व्याप्त अन्धताको शिकार भएकी तिम्री आमाको धीरता र सो अन्धता चिर्न नसकेर नीरिह बनेको तिम्रो बाबुको पीडा तिमीहरुले नजिकैबाट देखेकै छौ । मेरै कमजोरी ठहर्छ, मैले तिमीहरुकी आमालाई परिवारको अपनत्व गराउन नसक्नु । सम्मानित सदस्यको स्थान दिन नसक्नु । आफैले विवाह अघि दिएको बाचा पूरा गर्न नसक्नु । तैपनि उनको धैर्यताले गर्दा हाम्रो कति सुन्दर बगैचा निर्माण भएको थियो । सागर झैं चौडा थियो नानीहरु, तिमीहरुकी आमाको छाती । यो सब पाएर मलाई कुनै अर्को स्वर्गको सम्झना नै हुदैनथ्यो । तर आज तिम्री आमा जीवनभरको अपमानको संचित पीडाले थलिएकिछिन् । मृत्यूको मुखमा पुगेकी छिन् । मानौं उनलाई मेरो स्वर्ग मन परेन । उनको आफ्नै स्वर्ग जहाँ कुनै किसिमको जातीय भेदभाव हुदैन । सासू बुहारीको आदर्शत म सम्बन्ध हुन्छ । छोराले अर्को जातको बुहारी ल्याउदैमा हजुआमाले नातिलाई अछुतको झै व्यवहार गर्दैनन् । त्यस्तै स्वर्ग चाहेकी होलिन उनले । तिमीहरुको आमा मेरी अर्धाङ्गिनी हुन । म उनको आधा अङ्ग । उनले मृत्यु रोजिन् भने म अवश्य तिमीहरुकै आमालाई नै रोज्नेछु । उनीबिना मेरो बाँकी जीवनको सार्थकता छैन । सायदै तिमीहरुप्रतिको मैले गरेको कर्तव्य यति नै होला । बन्दना, तिमी सबैभन्दा परिपक्व छौ, आफूलाई सम्हाल्नू । बहिनी र भाइको राम्रो ख्याल राख्नू । तिमीहरुलाई अति नै माया गर्ने बाबा जगन्नाथ घिमिरे ।”

रातको एघार बजिसकेको थियो । जगन्नाथ सरका कुराले पुष्कर र सरोजलाई कति छोयो थाहा छैन । तर मैले भने मोमिता गुरुआमाले चाहेको स्वर्ग तत्काल प्राप्त नहोस भनेर कामना गरें । बरु त्यो स्वर्ग धर्तीमै झर्नु नि ! सोचें – भोलि विहानै काठमाण्डौमा रहेका छोरीहरू बन्दना र सुप्रियालाई फोन गरेर बोलाइदिनु पर्यो । र भन्नु पर्यो सम्हाल तिम्रा बा आमालाई, अनि भाइ र हजुरआमालाई, जिउदो छदै । अबको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण हुन आवश्यक छ ।

मनमा अनेक कुराहरू खेलिरहे । धेरै बेर निदाउन सकिन । बिहान उठ्ने बेलामा– मोमिता गुरुआमा सुत्केरी भएकी अनि छोरी बन्दनालाई जगन्नाथ सरकी आमाले काखमा लिएर माया गरिरहेको सपना देंखे । उनीहरू सबै स्वर्गीय सुखभोग गरिरहेका रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares