खड्गी जातिः ऐतिहासिक परिचय : ऐतिहासिक समीक्षा – सकु थापा

सेयर गर्नुहोस्

नेपाल विभिन्न जातजाति र विविध संस्कृतिले भरिएको देश हो । नेपालमा परापूर्वक कालदेखि नै विभिन्न भाषाभाषी वा संस्कृतिको संगमस्थलको रूपमा रहिआएको पाइन्छ । हाम्रो देशभित्र बसोवास गर्ने प्रत्येक समुदायको आ—आफ्नै भाषा एवं साँस्कृतिक, चालचलनहरू र रीतिरिवाजहरू रहेका छन् । यी सबै जातिहरूको भाषा र रीतिरिवाज मिलेर नै समग्रमा नेपाली सँस्कृतिको निर्माण भएको छ । यी जनजाती समुदाय अन्तर्गत खड्गी समुदायको आफ्नो मौलिक संस्कृति एवं संस्कारहरू तथा जीवनशैलीको अस्तित्वले छुट्टै पहिचन राखेको छ । काठमाडौं उपत्यकामा बसोवास गर्ने एक प्रख्यात सामाजिक वर्ग नेवार समुदायभित्र पर्ने खड्गी जाति पनि रहेको छ । यी जाति काठमाडौं उपत्यका लगायत नेपालका विभिन्न सहरी क्षेत्रहरुमा बसोबास गरिरहेका छन् ।

यो जातिलाई चलनचल्तीमा ‘कसाई’ भन्ने गरेका छन् । अरबी भाषामा दया, माया नभएको, अर्काको ज्यान हर्ने वा दुःख दिनेहरूलाई भन्ने गर्दछन् । जंगबहादुरको पालादेखि मात्र “कसाई” शब्दले सम्बोधन गरेको भन्ने भनाई रहेको छ । त्यस शब्दको अर्थ जनावर मारी जीवनयापन गर्ने भन्ने हुन्छ । यो जातिका मानिसहरु आफ्नो थर नायः, शाही, खड्गी तथा कोही कोही सिंह समेत लेख्ने गरेका पाइन्छ । साधारणतयाः यो जातिका मानिसहरूलाई अन्य जातिका मानिसहरुले ‘कसाई’ भनेर नै चिन्ने गर्दछन् । समस्तमा मासु खानेलाई नराम्रो भनिदैन तर मासु बेच्नेलाई मात्र नराम्रो मान्ने समाज कपटपूर्ण, स्वार्थपूर्ण भएको बुझाउँदछ । नेपालमा विदेशी भाषाहरू फारसी, उर्दु, हिन्दी, अरबी, संस्कृत र अंग्रेजी भाषाको प्रचार प्रसार भएको समय ताका भारतीय मुगलानी मुसलमान र कट्टर बैष्णवीहरूले मासु बेचिरहेको देखि कुनै व्यक्तिले अरबी भाषामा कसाई भने पछि त्यसैको देखासिखी अन्य जातिहरूले पनि नायः खड्गीहरूलाई कसाई भनेको हुनुपर्छ ।

समाज सधैँ प्राकृतिकरूपले परिवर्तन भइरहेको हुन्छ । जस्तै समाजका मूल्य र मान्यताहरू समय अनुरूप परिवर्तन भइरहन्छ । खड्गी जाति समाजको एक अभिन्न अंग हो, यो कुनै बाहिरबाट लाइएका जाति होइन । त्यसकारण हामी यो बुभ्mन सक्छौं कि विभिन्न जातिको काम गर्ने तरिका वा आधुनिकीकरणले गर्दा तिनीहरूको सामाजिक, आर्थिक अवस्था बुभ्mन आवश्यक छ । यसरी नेवारी सम्प्रदायभित्रको एक वर्गको रूपमा रहेको खड्गी जाति आफ्नो संस्कृतिमा जति धनी छ उत्ति नै मौलिकता पनि यसले कायम गरेको छ । यस्तो महत्वपूर्ण स्थान ओगट्ने जातिको विशुद्ध सामाजिक साँस्कृतिक विषयमा समयमै खोजी गरेर ठोस विषय वस्तु प्रकाशमा ल्याउन सकिएन भने पछि गएर अन्य समाज र वर्गमा संस्कृति र बढ्दो विश्व संचार प्रविधिले गर्दा देशमा शताव्दियौंसम्म स्थापित एउटा मौलिक साँस्कृतिक सम्पदाको विलय हुन धेरै समय लाग्दैन ।

खड्गी जातिको वर्तमान पेशा मासु काट्ने, व्यापार गर्ने तथा प्राचीनकालमा त उनीहरूले भैसी पालेर दूध बेच्ने काम गर्दथे भन्ने बुझिन आएको छ । भूमि माथिको सामन्ति स्वामित्व, आर्थिक विपन्नता, असमानता, कुसंस्कार, चेतनाको कमी र सामाजिक अन्यायको कारण यी जातिहरू पीडित भएका छन् । यी जातिहरू अहिले आएर आफ्नो पेशा मासु काटेर बेच्ने भन्न स्वीकार्दैनन् । तरपनि यो पेशालाई नै आफ्नो आयआर्जनको मुख्य पेशाको रूपमा अप्नाइरहेका छन् । शिक्षित वर्ग यो पेशाबाट अलग रहेको देखिन्छ । खड्गीहरू शिक्षालाई बढावा दिनु भन्दा शिक्षा आर्जन गरेपनि यही पेशा अपनाउनु नै पर्ने र अरु पेशा भन्दा यही मासु काटेर बिक्री गर्ने पेशा पितापुर्खाले गरी आएको र सजिलो पनि भएकाले उच्च शिक्षा हासिल गरी सरकारी, गैरसरकारी उच्चपदमा नोकरी गर्नु भन्दा परम्परागत मासु व्यवसाय प्रतिनै उत्साहित भएको देखिन्छ ।

वामन शिवराम आप्टे नामक व्यक्तिद्वारा लिखित पुस्तक “संस्कृतहिन्दी कोष” मा नायः शब्दको अर्थ नेता, मार्गदर्शक, बाटो देखाउने, निर्देशक इत्यादि भनि उल्लेख गरेको छ । यसबाट नायः भन्ने एउटा राजकीय जात हो भनि बुझ्न सकिन्छ । यस जातिलाई खड्गी भनिनुका कारण यसरी स्पष्ट पार्न सकिन्छ । खड्ग देवता र राजाले लिने शस्त्र हो, राजाहरूले धारण गर्ने शस्त्र समात्ने भएकोले खड्गी जातिलाई सिंह, शाही पनि भनिन्छ । खड्गी जाति नेवार समुदायमा सुरवीर योद्धा जात हो । यस कुराको उल्लेख विभिन्न किताब एवं वंशावलीहरूमा गरेको पाइन्छ । प्रख्यात र सिद्ध मानिएका देवदेवी मन्दिरमा बलि र पंचदान चढाई पूजा गर्ने चलन परापूर्वकालदेखि वर्तमान समयसम्म विद्यमान खड्गीहरूमा रहेको पाइन्छ ।

वास्तवमा “नायः” खड्गीहरू ब्रम्हपुत्र क्षेत्री, सूर्यवंशी र कश्यप गोत्रका हुन् । डेनियल राइट वंशावलीमा उल्लेख गरे अनुसार ने.सं.९(इश्वी संवत ८८९) श्रावण ७ गते शनिवारका दिन कर्णाटक राज्य नायर प्रदेशका राजा नान्यदेव नेपाल उपत्यका भित्र आएका थिए । उनले शक शहकाल संवत चलाएका थिए । राजा नान्यदेवले त्यसैताका नायः जातिलाई नेपाल ल्याएको देखिन्छ । राजा नान्यदेवले त्यसैबेला पाटन र काठमाडौंमा राज्य गरिरहेका राज जयदेवमल्ल र भक्तपुरका राजा आनन्द मल्ललाई हराई तिरहुततिर धपाई दिए । यसरी विचार गर्दा राजा नान्यदेव पनि नायः जातिका थिए । नायर प्रदेशका नायर (नायः) जाति पनि सँगै नेपाल पसेकाले नायः जातिले राज्यको शासनको नेतृत्व गरेको कुरा प्रष्टिन्छ ।

त्यस्तै भारतको कर्णाटकका राजा सोमेश्वरका सेना नायक नायरवंशी नान्यदेव वंशजको राजा हरिसिंहदेवको राज्य सिम्रौनगढमा दिल्लीका बादशाह गयाद्धिन तुगलकले आक्रमण गर्दा बहादुरीपूर्वक सामना गरे तापनि आफ्नो हार सुतिश्चित भएपछि आफ्नो परिवार सहित भाग्नु कल्याण हुने देखी सेना नयरहरू सहित अन्य जाति आचाजु, जोशी, भडेल, बैद्य, ब्राम्हण र धोबीहरू पनि लिएर भागेका थिए । काठमाडौं उपत्यकातिर भाग्ने क्रममा उनीहरू जंगलमा बास बस्नु पर्ने भयो । त्यहाँ खानेकुराको अभाव हुँदा राजा हरिसिंह देवले आफ्नो इष्टदेवी तुलजा भवानीलाई पुकार गर्दा भवानीले राजालाई भोलि विहान त्यस जंगलमा जुन पशु भेटेपनि तिमीहरूले त्यसलाई खानु भनिन् । भोलीपल्ट विहान डरलाग्दो अर्ना रांगो देखाप¥यो । त्यस्तो डरलाग्दो जंगली राँगोलाई समात्ने काम जोखिम भएको तर साहसी सैनिक नायरहरूले त्यसलाई समाती तुलजा भवानीको अगाडि भोग चढाउन राजाको अगाडि ल्याई दिए । तर फेरि बलि दिने काम कसले गर्ने कुरामा विवाद भएपछि राजाका कान्छा राजकुमारले राँगालाई बलि दिने कुरा भने पछि सोही राजकुमारले अर्नालाई खड्गले काटी बलि पूजा सम्पन्न गरिए र मासु प्रसादको रूपमा भाग लगाइए । राजासँगै भागेका शक्तिहीन भएका भारदारहरूले उक्त प्रसाद खाएपछि उनीहरूमा पुनः ठूलो शक्ति आएको भान भयो । यस्तो प्रभाव देखि राजाले खड्गले काटी बलि दिने कार्य गर्ने कान्छा राजकुमारलाई खड्गी पदवी दिएर उनको वंशज “खड्गी” भएको हो । नायर जातिहरू नेपालभित्र आएपछि मात्र नायः भएको भनि दावी गर्ने इतिहासविदहरूले नायरमा “र” अक्षर लोप भएपछि नायः मात्र भएको हो भन्ने दावी गरेको छ । नेपालमा चलेका जात्रा, पर्व, उत्सवलाई हेर्दा नायरहरू नेपाल आउनु अगाडि नै नायः जातिको अस्तित्व नेपालमा भएको देखिन्छ । त्यस्तै नेपालको इतिहास विभिन्न ऐतिहासिक घटनाक्रम, विभिन्न सम्वतले गर्दा पनि नेपाल मण्डलमा नायरहरू नेपाल पस्न अगाडि नै उनीहरूको अस्तित्व रहेको देखिन्छ ।

काडमाडौंमा दशैंताका मनाउने किराँतकालीन फर्पिङ्गको जात्रा पचली भैरव जात्रा हो । यो जात्रा काठमाडौंको लगनटोल भिमसेनस्थानभन्दा तल बस्ने बासिन्दा समस्तले पचलीमा बलिपूजा पठाई भोज खान्छन् । यो जात्रामा पचली भैरवलाई उठाउन पहिला पचली भैरवको बाहिरिनी पत्नी नायः जातिका स्त्री नै अजिमालाई बाहिर निकाली सकेपछि मात्र जात्रा अगाडि बढ्नु पर्ने जनश्रुति रहेको छ । त्यस अनुसार आज पनि यो जात्रा सम्पन्न गर्ने गरिन्छ । यसबाट नायः जातिका देवी अजिमाको यो जात्राबाट महत्व प्रष्टिन्छ । पचली भैरवको जात्रा हंँुदा नै अजिमासँगै नायः गणेशको पनि सँगी जात्रा हुन्छ । नायः जातिको अस्तित्व समाजमा धेरै अगाडि रहेको कुरामा कुनै दुई मत छैन, किनकि पचली भैरवको जात्रा राजा गुणकामदेव भन्दा धेरै अगाडि नै भइसकेको र इतिहासकारहरूका अनुसार पनि काठमाडौंमा महिषपालवंश पछि मात्र किरांतकाल शुरु भएको हो । यो कथनलाई मान्ने हो भने खड्गी समुदायमा कर्णाटकवंशी हरिसिंहदेवसँगै आएका नायरहरू मात्र नभई महिषपालहरू नै आजका खड्गी जाति हो भन्ने कुरा पुष्टि हुन्छ । खड्गी जातिले पहिल्यैदेखि महिष (भैसी) पालन गर्दथे । नेपालका पुराना आदिवासी गोपाल, महिषपाल वंशीहरू हुन् । इतिहासकारहरूका अनुसार महिषपालवंश अर्थात म्येय्पू खलक नायः(खड्गी) जाति हुनसक्ने धेरै सम्भावना छ ।

खड्गीहरूलाई हेर्दा यिनीहरू सुरवीर थिए भन्ने कुरामा दुई मत छैन । तर यी जाति कसको वंशज हो भन्ने कुरा भने हालसम्म पनि विवादमा नै छ । डेनियल रायटको वंशावली अनुसार हरिसिंहदेव कर्णाटक वंशी नभई अयोध्याका राजा रामचन्द्रका वंशज थिए । नान्यदेव नेपाल संवत ९ मा नेपाल आएको कुरा लेखेतापनि उनी पछिका छैंठौ पुस्ता हरिदेवलाई मुकुन्द सेनले पश्चिम पट्टी विस्थापित गरेका थिए भनिएको छ । यसबाट यो कुरा विवादमा रहेको देखिन्छ । लामो समयको अन्तरालका कारण मानिसहरूलाई पुराना, पहिलेका विषयवस्तुमा हो, होइन, कसो होला भन्ने कुरामा कौतुहलता लाग्नु स्वभाविक हो । खड्गीहरूको विषयमा पनि यस्तै भएको हुनुपर्दछ । कुनै जाति, वर्ग, उन्नती, प्रगति भइरह्यो भने त्यो जातिलाई अर्को जातिले सधैँ गिराउन खोज्ने कुरा सर्वविद्धितै नै छ । सम्भवत नायः जाति पनि यस्तै भएको हुन सक्दछ । नेवारहरूको विभिन्न सांस्कृतिक इतिहासहरूलाई हे¥यो भने खड्गी जाति, नायर जाति पछि मात्र अस्तित्वमा आएको कुरा जायज देखिन्न । नान्यदेव र हरिसिंहदेवसँग आएका नायरहरू पछि मात्र खड्गी जातिमा सामेल भएको हुन सक्दछ ।

हिन्दु नेवार समाजमा मानिदै आएको सामाजिक सँस्कारहरू खड्गी समाजमा पनि पाइन्छन् तर यिनीहरूको सामाजिक सँस्कार गर्ने तरिका आफ्नै किसिमको छ । खड्गी समुदायमा आफ्नै किसिमको मौलिकता भएकोले विभिन्न किसिमको सँस्कृति र संस्कार अहिलेसम्म पनि कायमै रहेको छ । कुनै नेवार समुदायको सँस्कृति र संस्कार पनि उस्तै देखिन्छ । खड्गी जातिमा बच्चा जन्मेको ४ वा ६ दिनमा चोख्याउने गरिन्छ बच्चा छोरी भए ५ र छोरो भए ७ महिनामा भात खुवाउने चलन छ । छोरालाई ब्रतबन्ध (कैटपूजा), छोरीलाई जस्वलत हुने उमेर पुगेपछि बाह्रा तयेगु अर्थात् गुफा राख्ने, उपत्यकामा बसोबास गर्न खड्गीजातिमा इहीबेलविवाह गर्ने चलन नभएपनि उपत्यका बाहिर बसोवास गर्ने खड्गीहरूमा बेलबिवाह चलन छ । यस जातिमा ७ पुस्ताको फरक पारी आफ्नै जातिसँग विवाह गरिन्छ । जयस्थितिमल्लले सामाजिक सुधारको नाउँमा खड्गी (कसाई) ले बाहुला नभएको लुगा लगाउनु पर्ने, सुनको गहना लगाउन नपाइने भनी चलाएको चलन रहेतापनि प्राचीनकालदेखि चल्दै आएको परम्परागत जातीय पहिरन राजकीय र धार्मिक मिश्रित जामाभित्र कसिलो सुरुवा, भोटो र शीरमा फेटा (पगरी) लगाउने गर्दथे । यो जातिले बजाउने बाजा (खीः) लाई नायःखीः भनिन्छ । जन्मदेखि मृत्यूसम्मका विभिन्न धार्मिक, समाजिक र साँस्कृतिक संस्कारहरुमा बाजा बजाउने प्रचलन रहेको छ ।

विभिन्न ऐतिहासिक कालखण्ड पार गर्दै साँस्कृतिक, संस्कार र परम्परा बीच आप्mनो पेशालाई मासु व्यवसायको रुपमा अपनाउँदै आएका छन् । समाजले खड्गीहरुलाई कसाई भनी तल्लो जातिको दर्जा दिएको छ भने त्यही मासु व्यवसाय गर्ने अन्य जाति, समुदायलाई माथिल्लो जातिको रुपमा हेर्ने गरिन्छ । यो जातीय विभेद अन्त्य गर्दै मासु व्यवसायलाई नाफामूलक व्यवसायको रुप मनन् गर्दै खड्गी बाहेक अन्य समुदाय सरहको व्यवहारको खाँचो महसुस गरिएको पाइन्छ । यो जातिको ऐतिहासिक पक्षलाई हेर्दा सैनिक सुरवीर जातिको रुपमा लिने गरेको पाइन्छ ।

(स्नातकोत्तर तह, समाजशास्त्रको शोधपत्रको सारंश)

साभार : मझेरी डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares